काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेका छन् ।पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा आफ्नो चुनावी एजेन्डासहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताए ।‘यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै एजेन्डा, पार्टी संगठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ’, संयोजक दाहालले भने । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ मा बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उनले अन्यत्र चुनावी तालमेल गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारे ।‘आज बिहानमात्रै झापा–५ का हाम्रो पार्टीका उम्मेदवार रन्जितसँग फोनमा कुराकानी पनि भएको थियो । भ्रम केही नपाल्नुस्, कुनै सहमति भएको छैन । कुराकानी पनि भएको छैन । यो बाहिर जे मिडियामा कुराकानी आएको छ, यो गलत हो, भ्रामक हो, तपाईं अघि बढ्नुस् भनेर भनिसकेको छु,’ उनले भने ।नेकपाले विगतको कमीकमजोरी सच्याएर जनताको चाहना र भावनाअनुसार सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा नेकपा लाग्ने भएकाले जनताले मत दिने विश्वास व्यक्त गरे ।