काठमाडौं । बालेन शाहले नयाँ फ्याक्ट्री खोल्न १० जना नेतालाई ढोग्नुपर्ने अवस्था अन्त्य गर्ने बताएका छन्।मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आयोजना गरेको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्रमा समेत नयाँ उद्योग खोल्न राजनीतिक पहुँच र दबाबको आवश्यकता पर्ने अवस्था रहेको टिप्पणी गरे।उनले भने, “देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो। यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरू छन्। तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन्। नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ। कर्मचारीलाई फकाउनुपर्छ। अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछि आतंक सुरु हुन्छ। अब त्यो पर्दैन। त्यो हटाउन चाहन्छ रास्वपा।”उनले पूर्वी नेपालबाट ६०–७० प्रतिशत फुटबल खेलाडी उत्पादन हुने दाबी गर्दै आवश्यक खेल पूर्वाधार अभावप्रति गुनासो गरे।राम्रो फुटबल खेलाडी बन्न कम्तीमा १० हजार घण्टा अभ्यास आवश्यक हुने उल्लेख गर्दै उनले सो अभ्यासको वातावरण तयार गरेर खेलाडी उत्पादन गर्ने पार्टी रास्वपा बन्ने दाबी गरे। साथै, देशभित्रकै सम्भावनाअनुसार उत्पादन बढाएर नागरिकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।